नेपाल र ओमानले पर्यटन समझदारी
२०८१ फाल्गुन ८, बिहीबार १४:२५
नेपाल र ओमानले ऊर्जा र पर्यटन सहयोग सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका छन्।
नेपालकी परराष्ट्रमन्त्री डा. अर्जुना राणा देउबाले ओमानका प्रमुख मन्त्रीहरूसँग द्विपक्षीय बैठक गरी ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्य बलियो बनाउने विषयमा छलफल गरिन्।
ऊर्जा तथा खनिज मन्त्री इन्जिनियर सालिम बिन नासिर अल अउफीसँगको भेटमा उनले नेपालको जलविद्युत्, सौर्य ऊर्जा, पवन ऊर्जा र हरित हाइड्रोजनमा केन्द्रित योजनाबारे जानकारी दिइन्। अल अउफीले दिगो विकासका लागि हरित ऊर्जातर्फको रुपान्तरण आवश्यक रहेको बताउँदै नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने आशय व्यक्त गरे।
पर्यटन मन्त्री सालिम बिन मोहम्मद बिन सईद अल महरोकिसँगको अर्को बैठकमा नेपाल र ओमानबीच साहसिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भयो। पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरियो, जसले दुवै देशका व्यवसायिक अवसरहरू वृद्धि गर्ने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा ८औं भारतीय महासागर सम्मेलनमा सहभागिता, १३ द्विपक्षीय बैठक, दुई सम्झौता तथा ओमानस्थित नेपाली समुदायसँग अन्तर्क्रिया भएका थिए। यसले नेपाल र ओमानबीचको कूटनीतिक तथा आर्थिक सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।




