चीर ठड्याइएसँगै होली पर्व औपचारिक रूपमा सुरु
२०८१ फाल्गुन २३, शुक्रबार ११:३६
बसन्तपुरमा शुक्रबार चीर ठड्याइएसँगै होली पर्व औपचारिक रूपमा सुरु भएको छ ।
आज बिहान हनुमानढोका दरबार क्षेत्रमा काठको पोल ‘चीर’ गाडिएको छ।
होली पर्वको यो परम्परा ऐतिहासिक हनुमानढोका दरबारसँग जोडिएको छ। बसन्तपुर दरबार क्षेत्रमा ठड्याइने चीर रंगीचंगी कपडाले सजाइएको काठको पोल हो, जसलाई फागु पर्वको सुरुआतको संकेत मानिन्छ।
काठमाडौं उपत्यकामा होली फाल्गुन २९ गते धुमधामका साथ मनाइनेछ। त्यसपछि, तराई क्षेत्रमा चैत्र १ गते रंग र उत्साहको माहोल छाउनेछ।
यस अवसरमा काठमाडौंमा दरबारमार्ग, बसन्तपुर, ठमेल लगायतका स्थानहरूमा विशेष कार्यक्रम हुनेछन्। सुरक्षा व्यवस्थाका लागि प्रहरी प्रशासनले विशेष योजना बनाएको छ।
यस वर्षको होली पर्वलाई उल्लासमय बनाउन विभिन्न क्लब, संघ–संस्थाहरूले सांगीतिक कार्यक्रम र उत्सव आयोजना गर्दैछन्।




