होली पर्वको महिमा : सत्यको विजय र रङको उत्सव

फागुन पूर्णिमाका अवसरमा देशभर आज होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रेम, सद्भाव र आपसी मेलमिलापको सन्देश बोकेको होली पर्वलाई हिन्दू धर्ममा विशेष महत्वका साथ लिइन्छ।
यस पर्वको आरम्भ होलिका दहनसहित सुरु हुन्छ, जसले सत्यको विजय र अन्यायको अन्त को प्रतीक मानिन्छ।
पुराणमा उल्लेखित कथा अनुसार, असुरराज हिरण्यकश्यपको आदेशमा उसका छोरा भक्त प्रह्लादलाई मार्न होलिकाले आगोमा लिएर बसेकी थिइन्। तर, भगवान विष्णुको कृपाले होलिका जलेर भष्म भइन् भने प्रह्लाद बचिए। त्यस दिनको स्मरणमा होलिका दहन गरिन्छ।
हाेलीका दिन मानिसहरू एकआपसमा रङ दलेर उत्सव मनाउने गर्छन्। जात, धर्म, वर्ग र लिंगको विभेदलाई भुलेर मनाइने यो पर्व सामाजिक एकता र सद्भाव को प्रतीक मानिन्छ।
वसन्त ऋतुको स्वागतस्वरूप मनाइने होली पर्वले प्रकृति र जीवनको नयाँ चक्र को आरम्भ पनि जनाउँछ। खेतबारीमा नयाँ अन्न पाक्ने समयसँग जोडिएकाले होलीलाई कृषि उत्सव का रूपमा पनि लिने गरिन्छ।
विशेषतः तराई क्षेत्रका जिल्लाहरूमा होली विशेष धूमधामसाथ मनाइन्छ। राजधानी काठमाडौंसहित पहाडी भेगमा आज होली मनाइँदैछ भने भोलि तराईमा मनाइनेछ।
सुरक्षित र सौहार्दपूर्ण वातावरणमा होली मनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय प्रशासनले अश्लीलता र जबर्जस्ती रङ दल्न नहुने आग्रह गरेको छ।