धार्मिक चेतनाले ओतप्रोत विराटनगर शनिबार विशेष आध्यात्मिक वातावरणमा गुञ्जायमान भयो, जहाँ वैदिक सनातन धर्म र आधुनिक विज्ञानबीचको समन्वयमूलक दर्शन प्रस्तुत गरिएको प्रवचन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। 

सिटी प्यालेस विराटनगरमा आयोजित उक्त प्रवचनमा श्री श्री श्री चिन्न जीयर स्वामी महाराजको अमृतवाणीले श्रोतालाई आत्मचिन्तन र धार्मिक आस्थामा अभिवृद्धि गरायो।

स्वामीजीले वेद र सनातन धर्मलाई मोक्षप्राप्तिको सर्वोत्तम मार्गको रूपमा व्याख्या गर्दै भन्नुभयो, “वेदले जे बोलेको छ, आजको विज्ञान पनि त्यही पथमा अनुसन्धानरत छ। वैदिक ज्ञान शाश्वत सत्य हो, जसले समाजलाई धर्म, कर्म र सदाचारको बाटो देखाउँछ।”

उहाँले गौं रक्षाको महत्त्वलाई जोड दिंदै धर्म बचाउन पशुप्रेम र प्रकृतिसँगको सहअस्तित्व अपरिहार्य रहेको धारणा राख्नुभयो। “भगवान् अनुभूतिको विषय हुन्, देखिने होइनन् — ठीक त्यस्तै जस्तो भोक देखिन्न, तर महसुस हुन्छ,” उहाँले सहज उदाहरणमार्फत आध्यात्मिक अनुभूतिको गूढार्थ श्रोतामाझ राख्नुभयो।

उक्त अवसरमा धार्मिक अभियन्ता सुरेश शर्माले स्वामीजीलाई स्वागत गर्दै उहाँप्रति श्रद्धा र सम्मान व्यक्त गर्नुभयो। प्राध्यापक कविराज न्यौपानेले प्रवचनलाई धर्म र विज्ञानबीचको समन्वयको सशक्त प्रस्तुति भएको टिप्पणी गरे।

कार्यक्रममा काेसी प्रदेश प्रमुख पर्शुराम खापङ प्रमुख अथिति रहनु भएको थियोे साथै विराटनगर महानगरका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सामाजिक अभियन्ता इन्दिरा रिजाल जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

धर्म, विज्ञान र समाजबीचको सेतु निर्माण गर्दै यो कार्यक्रम विराटनगरको धार्मिक इतिहासमा एक स्मरणीय कार्यक्रम भएको  छ।