विराटनगर, चैत्र २ – खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य तथा कला उन्नयन उपसमितिले अग्रज साहित्यकार सुशीला भण्डारीलाई सम्मान गरेको छ। नियमित मासिक साहित्यिक कार्यक्रमअन्तर्गत भण्डारीलाई घरमै गई सम्मान गरिएको हो।

भण्डारी साहित्यकार तथा समालोचक स्वर्गीय गणेश भण्डारीकी धर्मपत्नी समेत हुनुहुन्छ। उहाँको योगदानलाई कदर गर्दै आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्रमुख अतिथि बलराम पोखरेल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने तथा कवियत्री टीका आत्रेयलगायतले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा कवियत्री टीका आत्रेयले छन्द कवितामार्फत प्रभावशाली प्रस्तुति दिएकी थिइन्। यस्तै, कवि दर्शनराज न्यौपाने, भरत गुरागाईं, स्वयम्भुनाथ काकी, शान्ति पौडेलसहित दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना रचनात्मक सिर्जना सुनाएर माहोललाई साहित्यिक बनाए।

खोटाङ सामाजिक सेवा मञ्चद्वारा आयोजना हुने यस्ता कार्यक्रमले साहित्यिक स्रष्टाको सम्मान र नयाँ पुस्तामा सिर्जनात्मक चेतना फैलाउने विश्वास गरिएको छ।