काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका अन्तर्गत बोल्देमा रहेको गोरखनाथ सामुदायिक वनमा आइतबार राति लागेको डढेलो नियन्त्रणका लागि आज बिहानदेखि प्रयास जारी छन्।

डढेलो आइतबार राति ११ बजेबाट सुरु भएको हो। बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालका अनुसार आज बिहानदेखि प्रहरी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारीहरू र स्थानिय बासिन्दाहरू मिलेर आगो नियन्त्रण प्रयास भइरहेको छ।

ढकालले रातको समयमा आगो लागेको हुँदा तत्काल नियन्त्रणको प्रयास गर्न सकिएको थिएन भने। उनका अनुसार आगलागी भएको स्थानबाट करिब एक किलोमिटर दूरीमा मानव बस्ती रहेको छ। त्यस्तै, थालीडाँडा र हर्काभञ्ज्याङमा खानेपानी आपूर्ति गर्ने आयोजना पनि आगलागीको जोखिममा परेको छ। यदि आगो बायाँतिर फैलियो भने मानव बस्तीसमेत जोखिममा पर्न सक्ने उनले बताए।

हालसम्म आगलागीबाट कुनै मानवीय वा पशुजन्य क्षति नभएको जानकारी ढकालले दिएका छन्।