नेपालको ढुवानी इतिहासमा नयाँ अध्याय थपिएको छ। पहिलोपटक ट्यांक कन्टेनरमार्फत कच्चा तेल बोकेको रेल आइतबार वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ।

जितपुर, बारास्थित शिवशक्ति प्रालि नामक खाने तेल उद्योगका लागि क्रुड सोयाबिन आयल (कच्चा सोयाबिन तेल) भारतको कांडला बन्दरगाहबाट सिधै रेलमार्ग हुँदै ल्याइएको हो।

पछिल्लो समय आयात ढुवानीमा हुने समय, लागत र जोखिम घटाउन नयाँ उपायहरूको खोजी भइरहेका बेला, यो ट्यांक कन्टेनर प्रणाली एक सम्भावनाको संकेत बनेको छ।

न त ट्यांकर ट्रकको झन्झट, न त चुहावटको डर।

 आधुनिक, सुरक्षित र व्यवस्थित तरिकाले ढुवानी सम्भव हुने यो प्रविधि अब नेपालमा परीक्षणको चरणमा छ।

यदि सफल भयो भने, आगामी दिनमा अन्य उद्योगहरूले पनि तरल पदार्थ, इन्धन वा खाद्य तेल यस्तै कन्टेनरमार्फत आयात गर्न सक्नेछन्।

ढुवानीको आधुनिकरणतर्फको यो पाइला न केवल उद्योगका लागि लाभदायक बन्न सक्छ, बरु समग्र आर्थिक पूर्वाधार विकास को उदाहरण पनि बन्नेछ।