सहरको व्यस्त जीवनशैलीसँगै फास्टफुडको प्रयोग दिनप्रतिदिन बढ्दो छ। सडक छेउका ठेला पसलदेखि तारे होटलसम्म पानीपुरी, मःम, चाउमिन, चटपटेजस्ता छिटो तयार हुने खानाको खपत वर्षभरि हुने गरेको पाइन्छ।

 बालबालिकादेखि वृद्धवृद्धासम्म यस्ता खाजाका पारखी छन्।

स्वादिलो र सजिलै उपलब्ध हुने भएकाले फास्टफुड लोकप्रिय बन्दै गएको भए पनि यसले स्वास्थ्यमा पार्ने नकरात्मक प्रभावलाई बेवास्ता गरिँदै आएको छ। चिकित्सकहरूका अनुसार यस्ता खानामा अत्यधिक तेल, मसला, रसायनयुक्त स्वादवर्धक पदार्थ र सफाइको कमी हुँदा विविध स्वास्थ्य समस्या निम्तिरहेको छ।

खानपानसँग जोडिएका गम्भीर रोग

स्वास्थ्य विशेषज्ञहरू भन्छन् — “पछिल्लो समय मधुमेह, रक्तचाप, मोटोपन, क्यान्सर, मिर्गौला र कलेजोसम्बन्धी समस्या तीव्र रूपमा बढेको छ। यसको मुख्य कारण अस्वस्थ खानपान र गतिहीन जीवनशैली हो।”

उनीहरूका अनुसार यस्तो अवस्था रहिरहेमा आगामी दिनमा गैर-संक्रामक रोगहरू महामारीझैं फैलिन सक्ने खतरा छ।

स्वास्थ्य चेतना बढाउन आवश्यक

स्वास्थ्य क्षेत्रका विज्ञहरू खानपानमा सचेत रहन सुझाव दिन्छन्। “सस्तो र सजिलो खानाको मोहमा जीवनभरको स्वास्थ्य गुमाउनु बुद्धिमानी होइन,” एक वरिष्ठ पोषणविद् भन्छन्।

सन्तुलित आहार, ताजा खाना र नियमित व्यायामलाई जीवनशैलीमा अपनाउनेबारे जनचेतना फैलाउनु आजको आवश्यकता भएको विज्ञहरूको भनाइ छ।