सेन्टर प्लाजामा भीषण आगलागी, उद्धारका लागि हेलिकप्टर परिचालन
२०८१ चैत्र १३, बुधबार १२:२१
इटहरी उपमहानगरपालिका–६ मा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आज बिहान भीषण आगलागी भएको छ। आगलागी बिहान करिब ९:३० बजे पाँचौँ तलाबाट सुरु भएको बताइन्छ, जसले क्रमशः छैटौँ र सातौँ तलासम्म प्रभाव पार्यो।
उक्त प्लाजामा होटल वरन्डा, क्युएफएक्स सिनेमा हल, बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर लगायत विभिन्न व्यापारिक प्रतिष्ठानहरू रहेका छन्। आगलागी भएपछि भवनभित्र केही मानिस फसेको आशंका गरिएको छ।
उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन
स्थानीय प्रशासनको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय बासिन्दाहरूले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागी नियन्त्रण गर्न इटहरी, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाका आठ वटा दमकल परिचालन गरिएको छ।
प्लाजाको माथिल्लो तलामा केही मानिस फसेको जानकारी आएपछि नेपाली सेनाको हेलिकप्टर समेत उद्धार कार्यका लागि परिचालन गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। हालसम्म पाँच जनाको सकुशल उद्धार गरिएको छ।
क्षतिको विवरण आउन बाँकी
आगलागीको कारण अहिले सम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार, विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। यस घटनाबाट भएको आर्थिक क्षति र मानवीय असरबारे विस्तृत विवरण आउन बाँकी छ।




