विदेशवाट फर्किएका युवाले सामूहिक कृषि, वार्षिक आम्दानी ३० लाख
२०८१ चैत्र १६, शनिबार १२:०६
बराहक्षेत्र नगरपालिका-९ ढोलबजियाका तीन युवाले विदेशबाट फर्किएपछि सामूहिक रूपमा कृषि फार्म सञ्चालन गरेका छन्। अमिर निरौला, रघुवीर चन्द्रवंशी, र छविलाल चौधरीले मिलेर यो कृषि व्यवसाय थालेका हुन्।
विदेशी भूमिमा बिताएका वर्षहरूपछि आफ्नै गाउँमै केही गर्ने सोचले उनीहरूले कृषि क्षेत्रमा हात हालेका छन्। सामूहिक लगानीमा सञ्चालित यस फार्मले आधुनिक तरिकाले खेती गर्दैछ, जसले स्थानीयस्तरमै रोजगारीको अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।
बराहक्षेत्र क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएर व्यवसायिक कृषि गर्ने प्रवृत्ति बढ्दै गएको छ। केही वर्षअघि यहींका रोशन र भरत गुप्ताले ‘दाजुभाइ कृषि फर्म’ स्थापना गरी व्यावसायिक च्याउखेती सुरु गरेका थिए। अहिले उनीहरू वार्षिक लाखौँ कमाइ गरिरहेका छन्।
यस्तै, श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले व्यावसायिक गोलभेँडा खेतीमार्फत ठूलो आम्दानी गरिरहेका छन्। चार बिघा जग्गामा गरिएको खेतीले उनलाई वार्षिक रु ३० लाखसम्म आम्दानी दिलाउने गरेको छ।
स्थानीयस्तरमै सम्भावना खोज्ने यस्ता उदाहरणहरूले अन्य युवालाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ। निरौला, चन्द्रवंशी, र चौधरीको सामूहिक कृषि फार्मले कस्तो सफलता हात पार्नेछ भन्ने हेर्न बाँकी छ, तर उनीहरूको आत्मनिर्भरता र मेहनतले उज्ज्वल भविष्यको संकेत दिएको छ।




