विराटनगर, चैत २३ समर्पण र सेवा भावका प्रतीक बनेको बबरसिंह–देवकुमारी थापा सेवा गुठी ले यस वर्ष पनि दुई विशिष्ट व्यक्तित्व र संस्थालाई सम्मान गर्ने घोषणा गरेको छ।

देवकुमारी थापा स्मृति सम्मान यसपटक बहुप्रतिष्ठित सामाजिक अभियन्ता, वैज्ञानिक तथा लेखक डा. महावीर पुनलाई प्रदान गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका पुनलाई यसअघि म्यागेसेसे जस्ता सम्मानित पुरस्कारले पनि सम्मानित गरिसकेको छ। उनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ अहिले चर्चा र प्रेरणाको केन्द्र बनेको छ। सम्मान राशी रु ५१,००० तोकिएको छ।

उता, बबरसिंह थापा स्मृति सम्मान ‘नर सेवा, नारायण सेवा’ संस्थालाई प्रदान गरिने भएको छ। कोशी अस्पतालमा १८ महिनादेखि बिरामी र कुरुवालाई निःशुल्क खाना तथा चिया–बिस्कुट वितरण गर्दै आएको यो संस्थाको निस्वार्थ सेवा प्रशंसनीय छ। पुरस्कार राशी रु २५,००० रहेको छ।

गुठीका अध्यक्ष प्रा. कविराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो भने, सम्मान समारोह २०८२ वैशाख ४ गते विराटनगरमा आयोजना गरिने महासचिव दिनेश श्रेष्ठले जानकारी दिएका छन्।

गुठीले यसअघि सत्यमोहन जोशीदेखि कुशेश्वर राईसम्मका नामलाई सम्मान गर्दै आफ्नो परम्परालाई गर्वका साथ अघि बढाउँदै आएको छ।