तीस वर्षे परम्परा अब नयाँ पुस्ताको काँधमा : तेस्रो पटक ‘जिब्रो छेड्नेमा फेरि सुजन

भक्तपुरको मध्यपुरथिमीस्थित बोडेमा मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ फेरि एकपटक चर्चामा आएको छ।
हरेक वर्षको नयाँ वर्षसँगै हुने यस अद्वितीय धार्मिक र सांस्कृतिक अनुष्ठानमा यसपटक पनि २८ वर्षीय सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाउँदै परम्परालाई निरन्तरता दिन लागेका छन्।
तीन पुस्तादेखि निरन्तर चल्दै आएको यो जात्राको नेतृत्व यसपालि सुजनले तेस्रोपटक गर्न लागेका हुन्। उनी यस जात्राका पुराना पात्र बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।
बुद्धकृष्णले अघिल्लो पुस्ताका कृष्णचन्द्र बाग श्रेष्ठबाट परम्परा थालेका थिए, जसले १२ पटकसम्म जिब्रो छेडेका थिए। त्यसपछि बुद्धकृष्णले ९ पटक यो अनुष्ठान पुरा गरे।
‘यो हाम्रो परिवारको धर्म, गर्व र पहिचान हो’, सुजन भन्छन्, ‘यो परम्परालाई मेरो पुस्ताले पनि जगेर्ना गर्नु आवश्यक छ।’
धार्मिक आस्था, साहस र सांस्कृतिक प्रतिबद्धताको प्रतीक बनेको यो जात्रा हेर्न देश-विदेशबाट हजारौं दर्शक बोडे आउने गर्छन्। परम्परा अनुसार, जिब्रो छेड्ने व्यक्तिले टिका र पूजा पश्चात् फलामको तारले जिब्रो छेड्ने गरिन्छ र शहर परिक्रमा गरिन्छ।
जात्राले थिमीका बासिन्दाको मात्र होइन, सम्पूर्ण नेपाली मौलिक संस्कृतिको गर्व बोकेको छ। अब यो गौरव सुजनको काँधमा आएको छ।