धान, चामल र मकैमै अर्बौंको आयात, दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड

नेपालमा स्वदेशमै उत्पादन गर्न सकिने खाद्य बालीहरूमा समेत निर्भरता बढेपछि व्यापार घाटा दिनहुँ झन् चुलिँदै गएको देखिएको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो।
त्यसअनुसार दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४५ प्रतिशतले बढी हो।
वैदेशिक व्यापार विवरणअनुसार यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको छ। त्यसमध्ये मुख्य बाली धानमा मात्रै १८ अर्ब ५ करोड, चामलमा १३ अर्ब ७८ करोड, र मकैमा १३ अर्ब ७३ करोड रुपैयाँ खर्चिएको छ।
यस्तै, ७ अर्ब ३४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन र ६ अर्ब २ करोडको आलु पनि आयात गरिएको छ।
पूर्ववाणिज्य सहसचिव रवि सैंजूले स्वदेशमै यी वस्तुको उत्पादन बढाउन सकिने बताए। उनले भने, “सिँचाइ, मलबीउजस्ता पूर्वाधार विकास गरेर उत्पादन लागत घटाएमा आयातमा निर्भरता घटाउन सकिन्छ।”
आयात वृद्धिको प्रमुख कारण स्वदेशी उत्पादन कमजोर हुनुका साथै निर्यात अनुदानजस्ता नीतिगत सुविधाले केही वस्तुको कृत्रिम रूपमा आयात बढ्नु हो।
यस अवधिमा कच्चा सोयाबिन तेलको आयात अस्वाभाविक रूपमा बढेर पेट्रोल आयातभन्दा अगाडि पुगेको छ। ९ महिनामा ६६ अर्ब ४ करोड रुपैयाँ बराबरको सोयाबिन तेल र २२ अर्ब ६४ करोडको सनफ्लावर तेल भित्रिएको छ।
उता निर्याततर्फ भने चालु आर्थिक वर्षको ९ महिनामा ६५.१६ प्रतिशतले सुधार देखिएको छ। यो अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ। निर्यात भएका वस्तुहरूमा प्रमुख स्थान खानेतेल, कार्पेट र अलैंचीलगायतले ओगटेका छन्।
नेपालले हाल १६३ देशसँग व्यापार गरिरहेको भए पनि व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा भारत र चीनसँग रहेको देखिन्छ। ९ महिनामा भारतसँग मात्रै ६ खर्ब ३५ अर्ब ७६ करोड र चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ घाटा भएको छ।
विशेषज्ञहरू भन्छन्, “आन्तरिक उत्पादन र औद्योगिक वृद्धि नगरी आयात नियन्त्रण असम्भवजस्तै देखिन्छ।”