कामको खोजीमा विदेश पुगेका नेपालीहरू फर्कँदै गर्दा पाल्पामा औलो (मलेरिया) को जोखिम बढेको छ। पछिल्लो समय आयातित औलोका कारण जिल्लामा संक्रमण दर उच्च देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो ६ वर्षमा मात्र २५ जना पाल्पालीहरूमा औलो संक्रमण पुष्टि भइसकेको छ। संक्रमितको मुख्य स्रोत भने भारतबाट फर्किएका श्रमिकहरू रहेको स्पष्ट देखिएको छ।

“पाल्पा परम्परागत रूपमा औलोको जोखिममा पर्नेको सूचीमा पर्दैन। तर विदेशबाट फर्कने प्रवृत्तिले हामीलाई नयाँ चुनौती थपेको छ,” जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकारीले बताए

हाल जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रणका लागि सक्रिय अभियान थालेको छ। सीमावर्ती क्षेत्रबाट फर्किनेहरूलाई स्वास्थ्य परीक्षण, सचेतना कार्यक्रम र औलो परीक्षणलाई प्राथमिकता दिइएको बताइएको छ।

विशेषज्ञहरू भन्छन् — औलो जस्तो रोग रोकथाम गर्न नागरिक स्तरमै सतर्कता आवश्यक छ। समयमै परीक्षण र उपचार नभए संक्रमण स्थानीयस्तरमै फैलिने जोखिम रहन्छ।

यसबाहेक, स्वास्थ्यकर्मीहरूलाई आकस्मिक तयारी अवस्थामा राखिएको छ भने समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमहरू तीव्र पारिएको छ।

 विदेशबाट फर्कदा सामान्य ज्वरो, टाउको दुख्ने, शरिर पोल्ने लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्। औलो सजिलै परीक्षण र उपचार गर्न सकिन्छ तर बेवास्ता गरे ज्यानसमेत जोखिममा पर्न सक्छ।