पाणिनि संस्कृत विद्यालयको २७औं वार्षिकोत्सव सम्पन्न
२०८२ बैशाख २१, आईतवार २२:०५
विराटनगर ,वैशाख २१ – पाणिनि संस्कृत विद्यालयको २७औं वार्षिकोत्सव तथा साधारणसभा समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका अध्यक्ष कविराज न्यौपानेको सभापतित्वमा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
विद्यालयको स्थापना २७ वर्षअघि अक्षय तृतीयाको दिन पण्डित खगेश्वर न्यौपानेको अध्यक्षतामा गठित समितिबाट भएको हो। सो दिनदेखि नै राष्ट्रप्रेम, जन्म भुमि प्रति निष्ठा र विश्व बन्धुत्वको भावना बोकेर मानवता सदाचारकाे विकासमा विद्यालयले निरन्तर योगदान दिँदै आएको छ।
समारोहमा विद्यालयका संस्थापक सल्लाहकार सदस्य शम्भु प्रसाद पोखरेल र संरक्षक सदस्य परशुराम काेइरालालाइ सम्मान गरिएको थियो। यस्तै, ‘नेरुडे पाणिनि संस्कृत छात्रवृत्ति पुरस्कार’ अन्तर्गत कक्षा ८ मा उच्च अंक ल्याई उत्तीर्ण भएका भवानी खनाल र रोहन नेपाललाई जनही रु ५ हजारको छात्रवृत्ति प्रदान गरिएको थियो। साथै, कक्षा ८ उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई ‘पण्डित लक्ष्मीप्रसाद चम्पादेवी पुरस्कार’ वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका सचिव तीर्थ घिमिरेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माधवप्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सो अवसरमा विद्यालयका प्रथम प्रधानाध्यापक गुरू दुर्गाप्रसाद अधिकारीको जीवन वृत्तमा आधारित चेतना अधिकारीवाट लिखित कृति विमाेचन गरिएको थियो। पुस्तकको परिचय साहित्यकार कवि हरि कट्टेलले प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि आचार्यले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आत्मनिर्भर र समुन्नत शिक्षालयको रूपमा अगाडि बढाउन आवश्यक सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल लेखक संघ कोशी प्रदेशका प्रमुख गोकुल अधिकारी, पद्मप्रसाद काफ्ले, डा. मीनाक्षी नेपाल , पुरुषोत्तम न्याैपाने लगायत अतिथिहरूले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।





