बुढीगंगामा खुला रक्तदान कार्यक्रम सम्पन्न, २७ पिन्ट रगत संकलन

मोरङ, टंकिसिनवारी — बुढीगंगामा आज आयोजित खुला रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन गरिएको छ। जीवन विज्ञान परिषद् मोरङ, जीवन विज्ञान प्रयोगशाला टंकिसिनवारी र बुढीगंगा साझा स्वास्थ्य सेवा गुठी प्रवर्द्धित बुढीगंगा साझा फार्मेसीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले जनस्वास्थ्यप्रति समुदायको जागरणलाई थप बलियो बनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष श्री जितनारायण थापा मगरले फार्मेसीद्वारा सञ्चालित सेवाहरू — घरमै औषधि डेलिभरी, हेल्थ डाटाबेस निर्माण, अस्पताल कुरुवा सेवा, विशेषज्ञ चिकित्सकसँग निःशुल्क परामर्श, शुद्ध मिनरल पानी वितरण तथा कम मूल्यमा गुणस्तरीय औषधि — को खुलेर प्रशंसा गर्दै भन्नुभयो, “जनसेवामा नयाँ सोच र दूरगामी लक्ष्यसहित स्थापना भएको साझा फार्मेसीले बुढीगंगाको स्वास्थ्य सेवालाई सर्वसुलभ, सर्वसामान्य र समर्पित बनाएको छ। पालिकाको निरन्तर साथ रहनेछ।”
वरिष्ठ प्रहरी उपरीक्षक तथा नेपाल प्रहरी कोशी प्रदेश तालिम केन्द्र प्रमुख अभिनारायण काफ्लेले भावनात्मक मन्तव्य दिंदै भने, “रक्तदान केवल रगतको प्रवाह होइन, समाजप्रति हाम्रो प्रतिबद्धताको प्रतीक हो। प्रहरी प्रशासन यस्ता सकारात्मक कार्यहरूमा सधैं सहकार्यका लागि तत्पर छ।”
प्राध्यापक कविराज न्यौपानेले युवालाई प्रेरित गर्दै भावुक ढंगले भन्नुभयो, “रक्तदान जीवन दिनु हो — यो पुण्यकार्यमा सहभागी हुन पाउनु गौरवको कुरा हो। साथै, जेष्ठ नागरिकलाई सुलभ र गुणस्तरीय सेवा दिने साझा फार्मेसीको सोचले समाजमा समावेशी सेवा विस्तारको मार्ग प्रशस्त गरोस्।”
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी श्री सरोज कोइराला, दोलखा जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सोमराज काफ्ले, स्थानीय जनप्रतिनिधि लोकनाथ चौधरी लगायत विशिष्ट व्यक्तिहरूले बुढीगंगा साझा फार्मेसीको पहललाई स्वास्थ्यको क्षेत्रमा नवीनतम हस्तक्षेप भन्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष सोमराज काफ्ले, पालिका बोर्ड सदस्य किरण चौधरी, समाजसेवी विष्णु बुढाथोकी, डा. सुरज थापा मगर, समाजसेवी रिता कार्की ,डम्बर वजगाई, हेम कार्की , विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको नेतृत्व जीवन विज्ञान परिषद्का ध्रुव कार्की, टंकि प्रयोगशाला अध्यक्ष सिताराम विष्ट, र बुढीगंगा साझा स्वास्थ्य सेवा गुठी अध्यक्ष दर्शनराज न्यौपानेले संयुक्त रूपमा गर्नुभएको थियो साे कार्यक्रम संचालन प्रेम प्रसाद घिमिरेले गर्नुभयो ।