विराटनगरमा मानगढ खानेपानी आयोजनाको निर्वाचन : अपेक्षाभन्दा कम मत खस्यो
२०८२ जेष्ठ १०, शनिबार २२:०४
१० जेठ, विराटनगर — बहुप्रतीक्षित मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा कुल ३ हजार ९६४ मत मात्र खसेको छ।
आयोजनाको व्यवस्थापन गर्दै आएको विराट खानेपानी उपभोक्ता संस्थाका ५ हजार ९८८ दर्ता मतदाता भए पनि करिब २ हजार २४ मतदाता मतदानमा सहभागी नभएका छन्।
निर्वाचन उच्च अदालत विराटनगरको आदेशपछि दोहोरिएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ र अब उम्मेदवार प्रतिनिधिहरूसँगको छलफलपछि मतगणना प्रक्रिया अघि बढाइनेछ।
मतदानमा अपेक्षाभन्दा कम सहभागिता देखिएपछि उपभोक्ताहरूको चासो, सक्रियता र संस्थाप्रतिको विश्वास कत्तिको रहेको छ भन्ने प्रश्नसमेत उठ्न थालेको छ। अब नेतृत्व चयनसँगै आगामी दिनमा आयोजना कति प्रभावकारी ढंगले सञ्चालन हुन्छ भन्नेमा सबैको नजर रहेको छ।




