विराटनगर, जेठ १३ – पति प्रती निस्वार्थ प्रेम, समर्पण र दीर्घायुको कामनाका साथ मनाइने बटसावित्री व्रत आज देशभरका मिथिला समुदायका महिलाहरूले आ-आफ्ना धार्मिक स्थलमा श्रद्धा, भक्ति र परम्परागत विधिसँगै सम्पन्न गरेका छन्।

ज्येष्ठ औँसी को दिन पर्ने यो व्रत विशेषगरी विवाहित महिलाहरूले वटवृक्षको पूजा गर्दै सावित्री–सत्यवानको धार्मिक गाथालाई स्मरण गर्छन्। सावित्रीले आफ्नो पतिका प्राण यमराजसँग जिद्दीपूर्वक फिर्ता ल्याएको पौराणिक कथासँग जोडिएको यस पर्वमा महिलाहरू बिहानै नुहाई–धोई, नयाँ पहिरन र गहना लगाई, विशेष पूजा सामग्रीसहित वटवृक्षको चारै तिर डोरी बेरी पूजा गर्छन्।

व्रतालु महिलाहरू दिनभर निराहार बस्दै पति र परिवारको कल्याण, सुख, शान्ति र समृद्धिका लागि प्रार्थना गर्छन्। यस वर्ष पनि विभिन्न मठमन्दिर, सार्वजनिक वटवृक्षस्थलहरूमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ।

पछिल्लो समय यो पर्वमा पुरुषहरूको सहभागिता पनि देखिन थालेको छ। आफ्नो पत्नीप्रतिको कृतज्ञता र प्रेम व्यक्त गर्दै धेरै पुरुषहरूले पनि यस दिनलाई विशेष महत्वका साथ मनाउने परम्परा बढ्दै गएको छ।

धार्मिक आस्था, पारिवारिक एकता र संस्कारको प्रतीक मानिने बटसावित्री व्रतले समाजमा समर्पण, धैर्य र आपसी सम्मान झनै सुदृढ बनाउने विश्वास गरिएको छ।

यस पर्वले सबैमा सकारात्मक ऊर्जा, पारिवारिक मेलमिलाप र सांस्कृतिक गौरव झन् प्रगाढ बनाओस् भन्ने शुभकामनासहित व्रत सम्पन्न गरिएको हो।