विराटनगर, असार २० – स्वास्थ्य सेवामा एक ऐतिहासिक उपलब्धि जोड्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुआत गरेको छ।

 अत्याधुनिक प्रविधियुक्त यो विभाग क्यान्सरलगायतका जटिल रोगहरूको पहिचान र उपचारमा क्रान्तिकारी कदमका रूपमा हेरिएको छ। उद्घाटन समारोहमा चिकित्सा क्षेत्रका विशिष्ट विशेषज्ञहरू, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा डा. जीवन पौडेल, न्यूक्लियर मेडिसिन विभाग प्रमुख, ले पूर्वी क्षेत्रमा यति उन्नत सेवा सुरु हुनु स्वास्थ्य प्रणालीको गुणात्मक उन्नति भएको उल्लेख गर्दै भने,

“यो केवल सेवा मात्र होइन, क्यान्सर उपचारमा नयाँ युगको सुरुआत हो।”

यसै अवसरमा, अस्पतालका वरिष्ठ क्यान्सर सर्जनले HIPEC (Hyperthermic Intraperitoneal Chemotherapy) सेवा सुरु गरिएको घोषणा गरे। यो प्रविधि पेटभित्र फैलिने क्यान्सरको उपचारमा अत्यन्तै प्रभावकारी मानिन्छ।

रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटाडा. अस्मिता रायमाझीले पनि न्यूक्लियर मेडिसिन विभागको सुरुआतसँगै क्यान्सर उपचार अझ सहज र सर्वसुलभ हुने विश्वास व्यक्त गरे।

“अब पूर्वी नेपालमै विश्वस्तरीय सेवा पाउने वातावरण बनेको छ,” उनीहरूले बताए।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने,“हामीले अस्पताललाई नाफा होइन, सेवा मुखी बनाउने अठोट लिएका थियौं। यो नयाँ विभागले त्यो सोचलाई थप मजबुत बनाएको छ।”

उनका अनुसार, काठमाडौं वा विदेश जानु नपरी विराटनगरमै अत्याधुनिक उपचार पाउने व्यवस्था गर्नु नै अस्पतालको मुख्य लक्ष्य हो।

अस्पतालका सीईओ डा. निकिता कार्कीले भविष्यमा अस्पताललाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र सुविधा सम्पन्न बनाउँदै लैजाने योजनाबारे जानकारी दिइन्।

“हामी जनउत्तरदायी स्वास्थ्य सेवा विस्तारमा निरन्तर लागिरहेका छौं,” उहाँको भनाइ थियो।

सेवा, शिक्षा र अनुसन्धानको त्रिवेणी बनेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको यो पहलले कोशी प्रदेश मात्र होइन, समग्र नेपालका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको भनी हस्पिटल का कानुनी सल्लाहकार अधिवक्ता काशी चुडालले वताए ।