भोजपुर, जेठ २१ — भोजपुर नगरपालिकाको वडा नं ६ अन्तर्गत पर्ने देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडकको स्तरोन्नति कार्य सम्पन्न भएको छ। झण्डै ९ किलोमिटर लम्बाइको यो सडक तीन खण्डमा विभाजन गरी स्तरोन्नति गरिएको हो।

वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार सडक स्तरोन्नतिमा सघन सहरी विकास कार्यालय, धनकुटाबाट १ करोड रुपैयाँ, संघीय सरकारबाट ६० लाख रुपैयाँ र प्रदेश सरकारबाट १० लाख रुपैयाँ गरी कूल १ करोड ७० लाख रुपैयाँ खर्च गरिएको छ।

“वडाको सक्रिय पहलमा हामीले सडक स्तरोन्नति सम्पन्न गरेका हौँ,” वडाध्यक्ष कार्कीले भने, “अब यो सडकमा वर्षभरि सवारीसाधन चल्न सक्नेछ।

उक्त सडकले भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकासँग जोड्ने सबैभन्दा छोटो मार्गको सुविधा प्रदान गर्नेछ।

वडामा रहेका साना ठूला गरी १७ वटा सडकको समेत स्तरोन्नति गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए। उनले भने, “अब अत्यावश्यक अवस्थामा एम्बुलेन्सलगायत सवारीसाधन सजिलै घर–घरसम्म पुग्न सक्नेछन्, जुन वडाबासीका लागि ठूलो उपलब्धि हो।”

स्थानीयवासीले सडक स्तरोन्नतिपछि बर्सेनि वर्षात्को समयमा हुने आवागमनको समस्याबाट मुक्ति पाएको महसुस गरिरहेका छन्।