श्रावण २१, काठमाडौं — भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

सम्मेलन आयोजना गरेको तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभसँगको भेटमा दुवै देशबीचको सम्बन्ध र सम्भावित सहकार्यका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।


उनका अनुसार नेपाल र तुर्कमेनिस्तान दुवै भूपरिवेष्टित राष्ट्र भएकाले साझा चुनौती र अवसरका क्षेत्रमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रधानमन्त्री ओलीले नेपालको वर्तमान विकास अवस्थाबारे पनि जानकारी गराउँदै आगामी दिनमा आपसी सहयोगलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरेका छन्।