अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा आज विशेष समारोह, राष्ट्रपति पौडेलको सम्बोधन हुने
२०८२ श्रावण २७, मंगलवार ०८:०२
काठमाडौं, श्रावण २७ — विश्वभर हरेक वर्ष १२ अगष्टका दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस वर्षको मूल नारा ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ रहेको छ।
नेपालमा यो दिवस सप्ताहव्यापी कार्यक्रममार्फत मनाउने परम्परा भए पनि, आजको दिन मुख्य समारोहको रूपमा विशेष महत्व राख्दछ। बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
आयोजकहरूको अनुसार, यस वर्षको दिवसले युवाहरूलाई राष्ट्र निर्माणमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ।
विभिन्न सरकारी, गैरसरकारी र युवामुखी संस्थाहरूले देशभर विविध तालिम, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।




