लाइसेन्स छपाइमा ठूला कुरा, काम शून्य !छपाइ सुरु भएको दुई हप्तामा पनि सेवाग्राहीको हात रित्तै
२०८२ मंसिर ३, बुधबार २१:११
काठमाडौं मंसिर ३ बुधबार , जेन–जी आन्दोलनले थिलथिलो बनाएको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थायी सर्भर उठाएर सेवा त सुरू गर्यो, तर लाइसेन्स छपाइ भने अझै भुलेकै जस्तो छ।
कार्तिक १२ मा विभाग र सुरक्षा मुद्रण केन्द्रबीच ६ महिनामा १२ लाख लाइसेन्स छाप्ने सम्झौता भयो। मन्त्रीले कार्तिक १६ मा ‘बटन थिचेर’ छपाइ सुरु भएको घोषणा पनि गरिदिए।
तर १४ दिन बित्दासमेत एक थान लाइसेन्स पनि विभाग वा सेवाग्राहीको हात परेन।
पहिलो चरणमा भदौ २३–२४ को आन्दोलनले रोकिएका ५ सय थान अत्यावश्यक लाइसेन्स छापिएको भनिए पनि विभागमै आइपुगेको छैन। विदेश जाने, पढ्न निस्कने र अत्यावश्यक काम परेकाहरू ठूलो मर्कामा।
विभागका सूचना निर्देशक केशव खतिवडाका अनुसार,
“छापिएका लाइसेन्स आज आउने होला भनेर बुझेका छौं, तर हात नपुगेसम्म केही भन्न सकिन्न।”
हालसम्म ११ सय जना सेवाग्राहीको डाटा संकलन भइसकेको छ।
यता सुरक्षा मुद्रण केन्द्रले गुणस्तर परीक्षणलाई ढिलाइको कारण ठान्दै छ।
पानी–तेलमा भिजाउँदा कत्तिको टिकाउ ? लाइफ–स्पान कति ?—यस्तै परीक्षणहरू नेपालमै भइरहेका छन्।
आवश्यक परे विदेश पठाएर परीक्षण गर्ने तयारीसमेत छ।
केन्द्रका निर्देशक देवराज ढुङ्गानाको भनाइ–
“हामी अहिले दोस्रो चरणको परीक्षणमा छौं। हप्तादिनमै सकिन्छ। त्यसपछि मात्रै विभागलाई पठाउँछौं।”
तर विभागसँग २५ लाख लाइसेन्स छाप्न बाँकी छ। बजेटले १२ लाख मात्र छाप्न पुग्ने भएकाले थप रकम माग्नु परेको छ।
मन्त्रीले बटन त थिचिदिनुभयो, तर सेवाग्राहीको हातमा लाइसेन्स कहिले पुग्छ ?
उत्तर अझै अनिश्चित




