चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृह सफाइका लागि २ करोड ७४ लाखको ठेक्का
२०८३ कार्तिक १४, शुक्रबार १८:५४
भोटेकोशी बाढीले क्षति पुर्याएको आयोजनाको पुनःस्थापनाका लागि कम्पनीले अघि बढायो खरिद प्रक्रिया
काठमाडौं, १३ कात्तिक। भोटेकोशीमा आएको बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको पुनःस्थापना प्रक्रिया अघि बढाइएको छ। आयोजनाको भूमिगत विद्युत्गृहमा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाउन चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का आह्वान गरेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार भूमिगत विद्युत्गृहको सफाइ कार्यका लागि भ्याटबाहेक २ करोड ७४ लाख ७६ हजार ८४९ रुपैयाँ ४२ पैसा लागत अनुमान गरिएको छ।
ठेक्का प्रक्रियामा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले ५ लाख ९० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ भने बोलपत्र दस्तुर ५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
निर्माण व्यवसायीका लागि आर्थिक तथा प्राविधिक योग्यता पनि तोकिएको छ। पछिल्लो १० वर्षभित्रका उत्कृष्ट तीन आर्थिक वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा २ करोड ९३ लाख रुपैयाँ हुनुपर्नेछ। साथै, समान प्रकृति र आकारको काम गरेको कम्तीमा १ करोड १७ लाख २० हजार रुपैयाँ बराबरको अनुभव आवश्यक पर्नेछ।
योग्य निर्माण व्यवसायीले आगामी १८ कात्तिकसम्म काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। सोही दिन दिउँसो साढे १२ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ।
बोलपत्र ९० दिनसम्म मान्य रहनेछ। कम्पनीले हालको आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार छोटो अवधिको बोलपत्र प्रक्रियामार्फत काम अघि बढाएको जनाएको छ।
गत १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो। त्यसयता आयोजनासँग सम्बन्धित उद्धार तथा पुनःस्थापनाका काम अघि बढिरहेका छन्।
भूमिगत विद्युत्गृहमा थुप्रिएको गेग्रान र भग्नावशेष हटाउने ठेक्का प्रक्रिया अघि बढ्नु आयोजनालाई पुनः सञ्चालनको दिशामा लैजाने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।




