नेपाल–भारत सीमा सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित द्विपक्षीय बैठक सुरु
२०८३ कार्तिक १२, बुधबार १६:०४
सीमा अपराध, मानव तस्करी र लागूऔषध ओसारपसार नियन्त्रणदेखि आधुनिक प्रविधिको प्रयोगसम्म छलफल हुने
विराटपाटी समाचार कार्तिक ११ बुधबार ,काठमाडौँ। नेपाल र भारतबीचको खुला सीमालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच १०औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ।
सीमा सुरक्षा व्यवस्थापन, सीमापार हुने आपराधिक गतिविधि नियन्त्रण तथा दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य सुदृढ बनाउने विषय बैठकको प्रमुख प्राथमिकतामा रहेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय, अनुसन्धान र नापीसम्बन्धी निकायका प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा सीमा क्षेत्रमा हुने मानव तस्करी, लागूऔषध ओसारपसार, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गरिनेछ। साथै, दशगजामा हुने अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार गर्ने र सीमावर्ती क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम राख्ने विषयमा छलफल हुनेछ।
नेपाल–भारतबीचको खुला सिमानाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन हुन सक्ने जोखिमलाई व्यवस्थित रूपमा नियमन गर्ने तथा सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ।
त्यसैगरी, सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधानका लागि नियमित सम्पर्क, तत्काल सूचना आदानप्रदान र संस्थागत समन्वयलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचारविमर्श हुनेछ।
सीमावर्ती क्षेत्रमा महामारी तथा विपद्को जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त सहकार्य तथा सीमा नाकामा यात्रुलाई सहज सेवा उपलब्ध गराउन सहायता कक्ष विस्तार गर्ने विषयमा समेत छलफल हुने सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।
दुई दिनसम्म सञ्चालन हुने बैठकमा सुरक्षा निकायबीच क्षमता अभिवृद्धि, संस्थागत सहयोग र सीमावर्ती समुदायसँगको सम्बन्ध सुदृढ बनाउने विषयलाई पनि प्राथमिकता दिइनेछ। आपसी विश्वास बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका संयुक्त गतिविधि सञ्चालन गर्ने विषयसमेत छलफलमा समावेश छ।
नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको खुला सीमा दुवै देशका नागरिकको सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धको महत्त्वपूर्ण आधार हो। यही सीमाको सहज आवागमनलाई कायम राख्दै अवैध गतिविधि नियन्त्रण गर्नु दुवै देशका सुरक्षा निकायका लागि प्रमुख चुनौती रहँदै आएको छ।
यस सन्दर्भमा द्विपक्षीय बैठकबाट सूचना आदानप्रदान, संयुक्त समन्वय र प्रविधिमैत्री सीमा व्यवस्थापनमा ठोस प्रगति हुने अपेक्षा गरिएको छ। बैठकले सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न नेपाल–भारत सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।




