खड्काको प्रस्ताव : पुस अन्तिम साता नियमित महाधिवेशन
२०८२ मंसिर ५, शुक्रबार २१:५०
काठमाडौं मंसिर ५ शुक्रबार , नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ कि ‘नियमित महाधिवेशन’ भन्ने विवाद झन् तीव्र बन्दै गएको छ। यही विवादकै कारण कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक तीन पटक सारिएपछि शनिबार पुनः बस्न लागेको हो।
राष्ट्रिय मुद्दा एकातिर परेका छन्, तर पार्टीभित्रको आन्तरिक टकराव अझै अन्त्य भएको छैन।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुस अन्तिम सातामा नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा टेबल गर्न तयार छन्।
यसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उठाइरहेको विशेष महाधिवेशन को अडान फिर्ता गराउने उद्देश्य लिएको देखिन्छ।
खड्काले शुक्रबार संस्थापन पक्षका २८ केन्द्रीय सदस्यसँगको भेटमा
“विशेष महाधिवेशन कुनै पनि हालतमा हुँदैन” भन्ने आश्वासनसमेत दिएका थिए।
डा. शेखर कोइरालाले स्पष्ट चेतावनी दिएका छन्—
पुस अन्तिम साताभित्र नियमित महाधिवेशन घोषणा गरिएन भने, केन्द्रीय समितिको निर्णयबाटै विशेष महाधिवेशन गर्नुपर्नेछ। कोइरालासँग नजिकका नेताहरू र संस्थापन पक्षका धेरै सदस्यले यही माग दोहोर्याइरहेका छन्।
खड्काले पछिल्ला दिनमा संस्थापन पक्षका ‘सात भाइ’ नेतासँग संवाद नगरेको गुनासो उठेको छ।
शुक्रबार त उनले टेलिफोन सम्पर्कसमेत नगरेको भन्दै नेताहरू असन्तुष्ट छन्।
उनीहरू खड्कामाथि महामन्त्री समूहसँगै सहकार्य गरेर निर्णय अघि बढाउन खोजेको आरोप लगाइरहेका छन्।
संस्थापन पक्षका करिब ७० केन्द्रीय सदस्य छुट्टै छलफलमा छन्। उनीहरूको चेतावनी छ
यदि कार्यवाहक सभापतिले आफ्नो समूहसँग सहमति मिलाएर मात्र कार्यतालिका ल्याए, मतविभाजन मागेर बहुमतले निर्णय गराउनेछौँ।
एक सदस्यका शब्दमा,“समझदारीबिना ल्याइएको प्रस्तावलाई हामी बहुमतले नै टुंग्याउँछौँ।”




