बारा मंसिर ५ शुक्रबार ,बाराको पथलैयामा जेनजी समूह र स्थानीय प्रशासनबीच भएको वार्ता सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको ६ बुँदे मागमा ध्यान दिइने आश्वासन दिएका छन्।

जेनजीले मागेका मुख्य बुँदाहरूमाकुनै पनि जाहेरीमा पूर्वाग्रह नगरी कारबाही हुने,घाइतेको निःशुल्क उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्ने,जेनजी र सहयोगीहरूको सुरक्षा ग्यारेन्टी,सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने अधिकारीहरूलाई कारबाही, अरविन्द साहको मोबाइल कल विवरण अनुसन्धानमा ल्याउने,घटना संलग्न छुटेका व्यक्तिलाई पुनः अभियुक्त बनाउनुपर्ने कुरा समावेश थियो।

वार्तामा जेनजीका अन्य नेताहरूले प्रहरीको दायरामा रहेका फरार अभियुक्तको खोजीमा ढिलाइ भएको, हिरासतमा रहेका अभियुक्त मोबाइल प्रयोग गर्दै रहेको, र प्रशासनले अब भविष्यमा सुरक्षा सुनिश्चित गर्नुपर्ने जस्ता धारणा राखेका थिए।

प्रमुख जिल्ला अधिकारी मिश्रले जेनजी युवाको सुरक्षा, घाइतेको उपचार, घटनाको निष्पक्ष छानबिन र कारबाहीको विषयमा छिटो कदम चाल्ने बताए। तर फरार अभियुक्तलाई तुरुन्त समात्न कठिनाइ हुने र निश्चित समय तोक्न नसकिने पनि स्पष्ट गरे।

वार्तापछि जेनजीका नेता सुदन गुरूङ र सम्राट उपाध्यायले युवाहरूलाई संयमित रहन र प्रशासनसँग सहकार्य गर्न आग्रह गरे। उनीहरूले ३ दिनभित्र प्रशासनको गतिविधि मूल्यांकन गरी कारबाहीको गति हेर्ने पनि बताए।