प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्न बाबुराम–जनार्दन–सन्तोष गठबन्धन तयारी अवस्थामा
२०८२ मंसिर ६, शनिबार २१:२३
काठमाडौं, मंसिर ६ शनिबार ,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री जनार्दन शर्मा र हालै रास्वपाबाट अलग भएका सन्तोष परियारको समूहबीच आइतबार नयाँ दल घोषणा गर्ने तयारी पूरा भएको छ। तीन पक्षबीचको छलफल सकिएसँगै उनीहरूले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नामकाे नयाँ राजनीतिक शक्ति अगाडि ल्याउने सहमति भएको हो।
घोषणाका लागि राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे विशेष कार्यक्रमको तयारी भएको बताइएको छ। दल दर्ता प्रक्रिया पहिले नै पूरा भएको र नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ चिन्हलाई नै कायम राख्ने निर्णय भएकाे तीन पक्षका नेताहरूले बताएका छन्।
नयाँ पार्टीको झण्डाबारे भने महाधिवेशनसम्म निर्णय टुंगो लाग्नेछ।
नेतृत्व संरचनामा व्यक्तिवादलाई हटाउँदै पाँचदेखि छ जनासमेटिएको अध्यक्षमण्डल बनाइने भएको छ। यसमा विभिन्न समुदाय, क्षेत्र र अनुभवी व्यक्तित्व समेटिने बताइएको छ।
घोषणाअघि तीन पक्षले आ–आफ्ना भेला तथा बैठक सम्पन्न गरिसकेका छन्— भट्टराई समूहले तीनकुनेमा, शर्मा समूहले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टै छलफलमार्फत अन्तिम तयारी पस्केका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो एकता परम्परागत दलहरूबाट मोहभंग भएका मध्यम–वाम र लोकतान्त्रिक स्पेस खोजिरहेका मतदातालाई लक्षित कदमका रूपमा हेरिएको छ। नयाँ दलले कांग्रेस र माओवादी दुवैको प्रभाव क्षेत्रमा चुनौती दिन सक्ने आकलन गरिँदै छ।




