विराटनगर मंसिर ७ आइतबार , नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा विराटनगरमा रातो रङ प्रहार गर्ने दुई युवक आइतबार साँझ रिहा भएका छन्।

आइतबार बिहान विराटनगर विमानस्थल नजिकै बस्नेत चढेको गाडीमा अर्पित कुँवरसंजोग गौतम नामका युवाले रातो रङ छ्यापेका थिए। प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

मोरङ जिल्ला प्रहरी कार्यालयकी डीएसपी कोपिला चुडालका अनुसार दुवै जनालाई बयान प्रक्रिया सम्पन्न भएपछि छोडिएको हो।

महेश बस्नेत इटहरीमा हुने पार्टी कार्यक्रममा सहभागी हुन विराटनगर एयरपोर्टबाट नजिकैकाे सडकमा याे घटना भएको थियो।

घटना बाहिरिएपछि ती युवकहरू नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता रहेको खुलेको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सामाजिक सञ्जालमार्फत पार्टी अनुशासन विपरीतको क्रियाकलापप्रति कार्यवाहीको चेतावनी दिएका छन्।