भारतलाई आकर्षित गर्न रूसको ‘तेल कूटनीति’ : अमेरिकाको प्रतिबन्धपछि सात डलरसम्म छुट
२०८२ मंसिर ८, सोमबार २०:२६
भारत मंसिर ८ साेमवार ,अमेरिका द्वारा रसनेफ्ट र लुकोयलजस्ता रूसका प्रमुख तेल उत्पादक कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाइएपछि रूसले भारतलाई कच्चा तेलमा ठूलो मूल्य छुट प्रस्ताव गरेको छ।
ब्लुमबर्गका अनुसार भारतलाई रूसी कच्चा तेलमा प्रति ब्यारेल सात डलरसम्म छुट दिने प्रस्ताव आएको छ—यो पछिल्ला दुई वर्षमै उपलब्ध भएको सबैभन्दा ठूलो छुट मानिएको छ।
यसअघि रूसले भारतीय आयल रिफाइनरीहरूलाई अधिकतम तीन डलर छुट दिँदै आएको थियो। तर अमेरिकी कदमपछि धेरै भारतीय प्रशोधन कम्पनीहरू रूसी तेल अर्डर रोकिएको खबर सार्वजनिक भएको थियो। यही परिस्थिति बदल्न रूसले छुट बढाएर भारतलाई आकर्षित गर्न खोजेको विश्लेषण गरिएको छ।
अमेरिकाले प्रतिबन्धसँगै भारतबाट आयात हुने सामानमा २५ प्रतिशत थप भन्सार घोषणा गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी कच्चा तेल किनेको भन्दै भारतमाथि आर्थिक दबाब बढाउँदा पनि भारतले रूसबाट तेल किन्ने निर्णय कायम राखेको छ।
रूस–युक्रेन युद्ध सुरु भएको सन् २०२२ फेब्रुअरीपछि पश्चिमी मुलुकहरूले रूसी तेलमाथि कडा प्रतिबन्ध जारी गरेका छन्। तर भारतले भने सस्तो मूल्यका कारण रूसी तेल आयातलाई निरन्तरता दिँदै आएको छ। युद्धअघि नगण्य मात्रामा रुचाइने रूसी तेल अहिले भारतका लागि प्रमुख स्रोत बनेको छ।
अमेरिकी प्रतिबन्धपछि बढ्दो दबाब र बजार गुमाउने जोखिमबीच रूसले उठाएको ‘मूल्य–कूटनीति’ भारत–रूस ऊर्जा सम्बन्धमा पुनः नयाँ मोड आउने संकेतका रूपमा हेरिएको छ।




