प्रधानमन्त्री भेट अवरुद्ध, जेनजी आन्दोलनले सिंहदरबार घेराउ–जस्तै माहोल
२०८२ मंसिर ९, मंगलवार २०:४४
काठमाडौँ, मंसिर ९ मंगलबार , प्रधानमन्त्री सुशीला कार्कीलाई नौबुँदे मागपत्र बुझाउन पुगेको ‘गरिखान देऊ’ अभियान अन्तर्गतको जेनजी समूह र प्रहरीबीच आज फेरि सिंहदरबार बाहिर तनाव उत्पन्न भएको छ। प्रवेश अनुमति नदिएपछि प्रहरी र आन्दोलनकारीबीच किचलो बढ्दै गएपछि प्रहरीले समूहलाई अनामनगरतर्फ सारेर स्थिति नियन्त्रणमा ल्याएको हो।
जेनजी समूह सोमबार पनि सिंहदरबार पुगेको थियो तर गेटमै रोकिएपछि मागपत्र टाँसेर फर्किएको थियो। मंगलबार पुनः प्रवेश प्रयास गर्दा प्रहरीले रोकेपछि भनाभन भ्रमणमा परिणत भएको अभियान संयोजक मिराज ढुंगानाले बताए।
उनका अनुसार आधाघन्टा आग्रह–अनुरोध गर्दा पनि प्रधानमन्त्रीसँग भेटको अनुमति नपाएपछि समूहले कालोपट्टी बाँधेर शान्तिपूर्ण रूपमा माग राख्न पुनः सिंहदरबार अगाडि पुगेको थियो।
ढुंगानाले भने, “दुई दिनदेखि भेटका लागि प्रयास गरिरहेका छौं। सरकारले समय नदिँदा र माग बेवास्ता गरेजस्तो देखिँदा आजको अवस्था बनेको हो।” भीड बढ्दै गएपछि प्रहरीले आन्दोलनकारीलाई दक्षिण गेट हुँदै अनामनगरको भाटभटेनीसम्म पुर्याएको उनले बताए।
जेनजी समूहका अनुसार उनीहरूले प्रहरीप्रति कुनै असन्तुष्टि नराखेको र प्रहरी आदेशले मात्र काम गरेको बताएका छन्। आन्दोलनको आगामी चरणबारे नेतृत्वभित्र छलफल जारी छ।
प्रधानमन्त्रीलाई बुझाउन खोजेको नौबुँदे माग
सबै भ्रष्टाचार प्रकरण छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था,विदेशस्थित नेपालीलाई मताधिकार,जेनजी विद्रोहलाई राजनीतिक आन्दोलन घोषणा,सहिद तथा घाइते परिवारको उचित व्यवस्थापन,२३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही ,राजनीतिक प्रतिशोधमा दर्ता गरिएका मुद्दा फिर्ता,प्रदेश सरकारको अनावश्यक खर्च कटौती गर्दै पुनर्संरचना ,जनभावना अनुसार संविधान संशोधन




