विराटनगर मंसिर १० बुधबार ,सरकारले कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई सरुवा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयपछि पौडेल औपचारिक रूपमा मन्त्रालयको नेतृत्व सम्हाल्ने पहिलो महिला सचिव बनेकी हुन्।

मन्त्रालय स्थापना भएदेखि आजसम्म ४० जना पुरुष सचिवले नेतृत्व सम्हालेको इतिहासमा पौडेल ४१ औँ सचिव र पहिलो महिला नेतृत्वका रूपमा दर्ज भएकी छन्।

 सह–सचिवबाट गत वैशाखमा मात्र सचिव हुँदै उक्लिएकी उनी छोटो अवधिमै केन्द्रको सबैभन्दा महत्वपूर्ण प्रशासनिक संयन्त्रको नेतृत्वमा पुगेकी हुन्।

सोमबारको निर्णय अनुसार, सचिव स्तरका चार जना विशिष्ट श्रेणीका अधिकृतहरूको भूमिकामा हेरफेर गरिएको छ।
संघीय मामिला मन्त्रालयमा कार्यरत सचिव रवीलाल पन्थीलाई राष्ट्रिय योजना आयोगमा सारिएको छ। पन्थीको स्थान रिक्त भएपछि कोशी प्रदेशबाट पौडेललाई ल्याइएको हो।

यसैगरी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ। भूमि व्यवस्था मन्त्रालयमा रहेका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको छ।

रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा बढुवा भएपछि खाली भएको पदमा शर्मा नियुक्त भएको सरकारको निर्णयमा उल्लेख छ।