देउवाको चेतावनी : ‘विशेष महाधिवेशनले पार्टी चिरिन्छ, म त्यस्तो दृश्य हेर्न तयार छैन’
२०८२ मंसिर ११, बिहीबार २२:२२
काठमाडौं, मंसिर ११ बिहीबार — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन सम्बन्धी चलिरहेको बहस चर्किएपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई बोलाएर कडा सन्देश दिएका छन्। आफ्नै नाम भजाएर पार्टीभित्र विवाद बढाइएको भन्दै उनले नेतृत्व तहलाई सचेत गराएका हुन्।
छलफलमा सहभागी एक नेताका अनुसार देउवाले विशेष महाधिवेशनमा जाने हो भने कांग्रेस फुट्ने चेतावनी दिए। “पार्टी चुनावअघि र पछि महाधिवेशनको कुरा उठाएर अनावश्यक विवाद गरियो,” एक नेताले भने, “सभापतिज्यूले आफ्नो नाम लिएर विवाद झिकिएकोमा असन्तुष्टि जनाउनुभयो।”
देउवाले कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेको र आगामी महाधिवेशनबाट आफू सभापति बन्ने कुनै योजना नभएको स्पष्ट पारे। “म अहिले पनि कार्यकारी भूमिकामा छैन। म विवादमा तानिन चाहन्नँ,” देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए।
नेताहरुलाई पार्टी एकतामार्फत लैजान निर्देशन दिएको देउवाले विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन नै समाधान हुने बताए। “विशेष महाधिवेशन नगर्नुस्, नियमित महाधिवेशन गर्दै जानुस्। विशेषले पार्टी विभाजन निम्त्याउँछ, त्यो म हेर्न सक्दिनँ,” उनले भनेको सहभागी नेताहरूले सुनाए।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देउवाले समय तोकेर हतार नगर्न सुझाए। सहमतिमै अघि बढ्नुपर्ने उनको जोड थियो। “बीचमा निर्वाचन परे महाधिवेशन रोकेर चुनावतिर लाग्नु, महाधिवेशन सहमतिमै गर्नु,” उनले निर्देशन दिएको बताइएको छ।
देउवाले बिहीबार कार्यवाहक सभापति खड्का, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मालगायतलाई बालुवाटारमा छलफलका लागि डाकेका थिए।




