उज्यालो नेपाल पार्टीले चुनावी उमेदवारका लागि खुला आवेदन, ‘योग्यता–मार्गचित्र–स्वच्छ छवि’ मुख्य मापदण्ड
२०८२ मंसिर १२, शुक्रबार १४:३०
काठमाडौं, मंसिर १२ — संरक्षक कुलमान घिसिङ नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुला आवेदन आह्वान गरेको छ।
पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २९ गतेभित्र उम्मेदवार छनोटका लागि आवेदन दिन सबै इच्छुकलाई आमन्त्रण गरेको हो।
पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार देशको “उज्यालो भविष्य निर्माण गर्ने स्पष्ट योजना, स्वच्छ छवि र कार्यक्षमता” उम्मेदवार छनोटका मुख्य आधार हुनेछन्।
उनी भन्छन्, “फागुन २१ को निर्वाचनमा पार्टीको तर्फबाट उठ्न चाहनेहरूले आफ्नो निर्वाचन क्षेत्र उल्लेख गरी देश निर्माणको मार्गचित्रसहित आवेदन दिनुपर्नेछ। मार्गचित्र स्पष्ट भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।”
उम्मेदवारी चाहनेलाई निर्वाचन क्षेत्र स्पष्ट रूपमा उल्लेख गर्ने, पार्टीको लक्ष्यअनुसार उज्यालो नेपाल निर्माणको कार्ययोजना प्रस्तुत गर्ने र २०८२ मंसिर २९ भित्र आवेदन पूरा गर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
पार्टीले यसलाई “नयाँ सोच र सक्षम नेतृत्व” खोज्ने अभियानको रूपमा व्याख्या गरेको छ।




