काठमाडौ मंसिर १२ शुक्रबार , नेपाली काग्रेसकाे महाधिवेशन विवाद तातेकाे छ ,शुक्रबार देउवा निवासमा भएको गोप्यजस्तै बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई कडा असन्तुष्टि सुनाएका छन्।

विधानले तोकेको समयमै महाधिवेशन गराउन आफूले नै जोड दिँदै सिंगापुर प्रस्थान गर्दा पनि नेतृत्वले बेवास्ता गरेको देउवाको आरोप छ।

बैठकमा उपसभापति पूर्णबहादुर थापा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, तथा नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको उपस्थिति थियो। सहभागीहरूका अनुसार, देउवाले महाधिवेशन ढिलाइ हुनुको जिम्मेवारी आपसी विवाद र निष्क्रियतामा देखाए।

एक नेताका अनुसार देउवाले बैठकमा भने —
“मैले स्पष्ट रूपमा समयभित्र महाधिवेशन गर्नू भनेरै सिंगापुर गएको थिएँ। त्यो मंसिरमै हुनुपर्ने हो। समय पनि थियो। तपाईंहरूले विवादै–विवाद गरी काम रोक्नु भयो। मैले त ‘छाड्छु’ भनेरै भनेको छु, त्यसमा तपाईंहरूलाई समस्या के पर्‍यो ?”

देउवाले नेतृत्व हस्तान्तरणबारे पहिले नै तयारी देखाएको तर अन्य नेताहरूले प्रक्रिया अघि नबढाएको गुनासो समेत राखेको स्रोतले वताए ।

महाधिवेशन कहिले गर्ने भन्ने टुंगो अझै नलागेको कांग्रेसभित्र यस घटनाले आन्तरिक विवाद झनै सतहमा ल्याएको टिप्पणी गरिँदैछ।