काठमाडौ मंसिर १२ शुक्रबार ,काठमाडौँ महानगरका मेयर बालेन साहले प्रशासनिक कामलाई प्रविधि‌-मैत्री बनाउने भन्दै छुट्टै ‘एआई कन्सोर्टियम’ गठनको तयारी सुरू गरेका छन्। यसका लागि उनले डेटा साइन्स, सफ्टवेयर विकास, डिजिटल शासनजस्ता क्षेत्रका विज्ञहरूसँग निरन्तरसँगै परामर्श गरिरहेका छन्। मंसिर १४ गते उनले महानगरमा नै विशेषज्ञहरू भेला गरी एआई प्रयोगका सम्भावना, संरचना र उपयोग क्षेत्रबारे विस्तृत छलफलसमेत गर्ने छन् ।

मेयरका अनुसार यो एआई टिमको मुख्य लक्ष्य महानगरको सेवा प्रवाह, प्रशासनिक प्रक्रिया, डेटा व्यवस्थापन, इ–गभर्नेन्स र नागरिक सेवाको गुणस्तर सुधार्नु हो।

तर सबै जनप्रतिनिधि यसमा आश्वस्त छैनन्। कतिपयले एआई टिमको उद्देश्य प्रशासनिक सुधारभन्दा बढी मेयरका सामाजिक सञ्जाल गतिविधि व्यवस्थित गर्ने हो कि भन्ने आशंका व्यक्त गरिरहेका छन्। बालेनले ०७९ सालमा मेयर बनेदेखि ‘साइबर सेना’ परिचालन गरेको आरोप पनि निरन्तर लाग्दै आएको छ, जसले अहिलेको एआई पहललाई अझै विवादमा पारेको छ।

यसै कारण, नागरिकदेखि जनप्रतिनिधिसम्म एउटै प्रश्न उठिरहेका छन्—यो एआई कन्सोर्टियम सचेत प्रशासनका लागि बनाइँदैछ कि अनुगमन र नियन्त्रणको नयाँ माध्यमका रूपमा? महानगरका एक पदाधिकारीका अनुसार पनि, “एआई टिमको वास्तविक उद्देश्य के हो भन्ने स्पष्ट पार्नैपर्ने माग बढ्दो छ।”

बालेन भने एआई प्रविधि स्मार्ट सेवा, डिजिटल पूर्वाधार र नागरिकमैत्री शासनका लागि नै प्रयोग गरिने दाबी गर्दै आएका छन्। अब एआई कन्सोर्टियमको संरचना, अधिकार, तथा यसको प्रयोग कति पारदर्शी हुन्छ—यही कुराले आगामी दिनमा काठमाडौँ महानगरको बहसको दिशा तय गर्ने देखिएको छ।