मनाङ, मंसिर १३ शनिबार ,चालु आर्थिक वर्षको पहिलो चार महिनामा मनाङमा आगन्तुकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सो अवधिमा १६ हजार २९६ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन्।

एक्याप इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले दिएको जानकारीअनुसार १०७ देशका नागरिक मनाङ पुगेका थिए।
आगन्तुकको विवरण हेर्दासार्क मुलुकबाट ८१२ पुरुष र १७७ महिला, अन्य देशबाट ९ हजार ६९५ पुरुष तथा ६ हजार ६०१ महिला मनाङ प्रवेश गरेका छन्।

उक्त अवधिमा मनाङ पुग्ने पर्यटकमध्ये इसरायल, फ्रान्स र जर्मनीका नागरिकको संख्या सबैभन्दा बढी देखिएको छ।इसरायलका १,९१०,फ्रान्सका १,३९२,जर्मनीका १,२०८ नागरिकले मनाङ भ्रमण गरेका छन्।

प्राकृतिक सुन्दरता, हिमाली भू–दृश्य र विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गका कारण मनाङमा पर्यटकको आकर्षण निरन्तर उच्च देखिँदै आएको एक्यापले जनाएको छ।