दाङ मंसिर १३ शनिबार ,दाङको राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँमा पुरानो बाटो विवादले शुक्रबार बेलुका उग्र रूप लिँदा पूर्व सांसद गंगा थारु स्थानीय महिलाबाट कुटपिटमा परेकी छन्। बाटोको सहमति जुटाउन बोलाइएको सामुदायिक छलफल नै झडपमा बदलिँदा वातावरण एकाएक तनावग्रस्त बनेको थियो।

स्थानीयका अनुसार छलफलकै बीच गंगा थारु र एक महिलाबीच वादविवाद भयो। विवाद चर्किएपछि अन्य महिलाहरू समेत हस्तक्षेप गर्दै गंगालाई लछारपछार गरेका थिए। गंगाले जानकी चौधरी, गायत्री चौधरी, चन्द्रमती चौधरी, सरस्वती चौधरी, अञ्जु चौधरी, छेदु चौधरी र राजकुमार चौधरीले आफूलाई समातेर कुटपिट गरेको आरोप लगाएकी छन्।

घटनामा घुँडामा चोट लागेको र लगाएको मंगलसूत्र समेत खोसिएको दाबी गर्दै थारुले संलग्न सबैविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएकी छन्। “माओवादी कार्यकर्ताले नै कुटेका हुन्, सबैलाई चिनेकी छु,” पूर्व सांसद थारुको आरोप छ। इलाका प्रहरी कार्यालय सिसहनियाँले दुवै पक्षलाई भोलिका लागि छलफलमा बोलाएको उनले जानकारी दिइन्।

उता आरोपित महिलाहरूले भने गंगाले पहिले नै गायत्री चौधरीलाई थप्पड हानेपछि आफूहरूले प्रतिक्रिया जनाउन बाध्य भएको दाबी गर्दै आएका छन्। उनीहरूका अनुसार जग्गाको सिमाना र बाटोसम्बन्धी विवाद वर्षौंदेखि दुवै पक्षबीच झुण्डिएको विषय हो।

राजनीतिक रूपमा पटक–पटक आफ्नो धरातल बदल्दै थरुहट पार्टी, नेकपा एमाले हुँदै हाल राजावादी धारमा सक्रिय गंगा थारु संलग्न घटना सार्वजनिक भएपछि स्थानीय तहमा राजनीतिक र सामाजिक बहस पनि तिव्र बन्दै गएको छ।