काठमाडौँ, मंसिर १४ आइतबार , नेपाली कांग्रेसले लामो समयदेखि थिलथिलो बनेको महाधिवेशनको विवाद अन्त्यतिर जाने संकेत देखिएको छ। 

आइतबार सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा बसेको पदाधिकारी तथा केही वरिष्ठ नेताको बैठकले पुस २७–३० गते महाधिवेशन गर्नेगरी तालिका ल्याउने निष्कर्ष निकालेको छ। यससँगै क्रियाशील सदस्यता छानबिनदेखि विधान मस्यौदा तयारीसम्मका प्रक्रिया तिव्र बनाउन सहमति बनाइएको छ।

छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगेको छ। उनका अनुसार, “अब पुसमै क्यालेन्डर निकाल्ने, आवश्यक समिति बनाउने र बाँकी विषयमा समायोजन गर्दै जाने” भन्ने निष्कर्ष बैठकले निकालेको छ।

चाँडै प्रतिनिधि सभा निर्वाचन (फागुन २१) नजिकिँदै गर्दा महाधिवेशनले असर पार्ने कि भन्ने प्रश्नमा लेखक भन्छन्— “कुनै ठाउँमा समस्या आयो भने तत्काल प्रक्रिया रोकेर सहमतिको बाटो खोजिनेछ।”

कांग्रेसभित्र पछिल्ला महिनामा नियमित महाधिवेशन र विशेष महाधिवेशनबीचको विवाद चर्किँदो छ।
महामन्त्री गगन थापाले नियमित महाधिवेशन अब सम्भव नभएको दाबी गर्दै विशेष महाधिवेशनको माग अघि बढाइरहेका छन्।

 उनका नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन पार्टीमा हस्ताक्षरसमेत बुझाइसकेका छन्। नियमअनुसार, हस्ताक्षर परेको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने हुन्छ।

तर देउवा नेतृत्वको संस्थापन पक्ष भने विशेष नगर्ने, नियमितमै जाने अडानमै छ। यसैबीच देउवा समूहका केही नेताहरू— विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत—ले वैशाखमा महाधिवेशन गर्दै त्यसअनुसार निर्वाचन तयारी सुरु गर्नुपर्ने धारणा बताउँदै आएका छन्।

असोज २८ पछि कांग्रेस केन्द्रीय समितिको बैठक लगातार स्थगित हुँदै आएको छ। सभापति देउवा विदेश उपचारबाट फर्किंदा पनि नेताहरू एकमत हुन नसकेपछि उनी स्वयं सहजीकरणमा लागेका हुन्। पछिल्ला तीन दिनदेखि देउवाले महाधिवेशन केन्द्रित छलफल निरन्तर गरिरहेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नजुटेकै कारण बैठक पटक–पटक सारिरहेका छन्। अहिले बैठक सोमबारका लागि सारिएको छ।

यता देउवा नजिकको एउटा समूहले भने कार्यवाहक सभापति र लेखकले प्रस्ताव गरेको मोडेल नमानेर कात्तिक १८ मा सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको तालिका नै केन्द्रीय समितिमा बहुमतका आधारमा अघि बढाउन दबाब दिने निर्णय गरेको छ।

समग्रमा हेर्दा, कांग्रेसभित्र महाधिवेशनको मोडेल र समय बारे अझै अन्तिम सहमति बाँकी रहे पनि पुस मसान्तमा तालिका ल्याउने तयारीले पार्टी अब निर्णायक मोडतर्फ बढेको देखिएको छ।