पूर्वतिर कुलमानको सक्रियता : धरानमा हर्कसँग भेट नहुँदा बालेनसँगको फोटो सार्वजनिक
२०८२ मंसिर १५, सोमबार १२:०२
काठमाडौं, मंसिर १५, सोमबार – ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ पूर्वी नेपाल भ्रमणमा सक्रिय छन्। आइतबार धरानमा विभिन्न भेटघाट तथा कार्यक्रम सकेर उनले सोमबार मोरङको बेलबारी हुँदै झापा सम्मको यात्रा तय गर्दैछन्।
धरान, बेलबारी र झापा आदिवासी–जनजातिको बलियो उपस्थिति भएको क्षेत्र मानिन्छ। धरानमा मेयर हर्क साम्पाङका समर्थकहरूको प्रभाव पनि उल्लेखनीय छ।
कुलमानसँग पूर्वमा पछिल्लो समय पहिचानवादी नेता तानिने क्रम तीव्र छ। इलाम–२ उपनिर्वाचनका उम्मेदवार डकेन्द्र थेगिम, डा. महेन्द्र लावतीलगायत नेताहरू अहिले उज्यालो नेपालमा आबद्ध छन्। यसले हर्क साम्पाङको राजनीतिक प्रभावक्षेत्रमा असर परिरहेको विश्लेषकहरू बताउँछन्।
धरानमा कुलमान–हर्क भेटको तयारी भए पनि अन्ततः भेट सम्भव भएन। हर्कले हाल काठमाडौंका मेयर बालेन्द्र साहमाथि निरन्तर सामाजिक सञ्जालमार्फत् आरोप लगाउँदै आएका छन्। उनी बालेनले आफूलाई मन्त्रीबाट रोकिएको दाबी समेत गर्छन्।
हर्क–कुलमान दूरी बढिरहेका बेला कुलमान भने बालेनसँग नजिकिएको संकेत सार्वजनिक गरेका छन्। आइतबार उनले बालेनसँगको तस्बिर फेसबुकमार्फत् शेयर गर्दै “देश बनाउने अभियानमा सहयात्रा”को सन्देश दिएका थिए।
धरान पुगेका बेला हर्कले भेट्न अनिच्छा देखाएपछि, काठमाडौंमै खिचिएको सो तस्बिरलाई कुलमानले राजनीतिक सन्देशका रूपमा अघि सारेको स्रोतहरू बताउँछन्।
धरानमा आयोजित कार्यक्रममा कुलमानले अप्रत्यक्ष रूपमा हर्कलाई सम्बोधन गर्दै, “वैकल्पिक शक्ति केवल एउटा दलले मात्रै सम्भव हुँदैन” भन्ने सन्देश पनि दिएका थिए।
पूर्व भेटघाट सकेपछि कुलमान मोरङ र झापामा विभिन्न पेशाका व्यक्तिहरूसँग अन्तरक्रिया गर्दैछन्। झापामा उनी आफूनिकट अग्रज तथा बाढी–पीडितहरूलाई भेट्ने कार्यक्रम छ। सोमबार भद्रपुरबाट काठमाडौँ फर्किने तालिका रहेको डकेन्द्र थेगिमले जानकारी दिए।




