काठमाडौ मंसिर १७ बुधबार , नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। पुस २६–२८ गते काठमाडौंमा हुन लागेको १५औँ महाधिवेशनलाई केन्द्रित गर्दै थापाले आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट संकेत दिएका छन्।

मंसिर १५ गते केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि थापाले नैतिक रूपमा समय आएको उल्लेख गर्दै ‘म सभापति पदका लागि उम्मेदवार हुँ’ भनेर हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँग खुला रूपमा घोषणा गरे।

उनका अनुसार, पार्टीभित्र परिवर्तन चाहने ठूलो समूहले आफूलाई समर्थन गर्नेमा उनी विश्वस्त छन्। “बहुसंख्यक कांग्रेसजनले नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास मेरो छ,” थापाको भनाइ छ।