काठमाडौं, मंसिर २२, सोमबार ,गृह मन्त्रालयले देशका सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई ‘जेन–जी आन्दोलन’का क्रममा ज्यान गुमाएका ४५ जनाको नामावली प्रमुख जिल्ला अधिकारी (सीडीओ) को कार्यकक्षमा राख्न औपचारिक निर्देशन जारी गरेको छ।

आजको मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले तत्काल परिपत्र पठाउँदै तीन दिनभित्र नामावली टाँस्ने व्यवस्थालाई अनिवार्य बनाइएको जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको पहलमा गरिएको यो निर्णयलाई आन्दोलन स्मरण र सुशासनप्रति राज्यको प्रतिबद्धता अभिव्यक्त गर्ने कदमका रूपमा हेरिएको छ।

गत भदौ २३–२४ गतेको प्रदर्शनपछि सरकारद्वारा पहिचान गरिएका ४५ जनालाई ‘जेन–जी सुशासन योद्धा’ का रूपमा सहिद घोषणा गरिएको थियो। सहिद सम्बन्धी सूचना कात्तिक १७ गते नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो।

सरकारी स्रोतका अनुसार नामावलीसहितको फ्रेम प्रशासन कार्यालयको प्रमुख कक्षमा स्थायी रूपमा राखिनेछ, जसले सुशासन र उत्तरदायित्वप्रति राज्यको प्रतिवद्धता झल्काउने अपेक्षा गरिएको छ।