विराटनगर  मंसिर २३ मंगलबार , हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया सडक स्तरोन्नति कार्यमा उल्लेख्य ढिलाइपछि ठेक्का सम्झौता रद्द गरिएको छ।
 

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले निर्माण जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि., हेटौंडासँगको ठेक्का औपचारिक रूपमा अन्त्य भएको सूचना मंगलबार जारी गरेको हो।

२०७६ कात्तिक २३ मा करीब ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) सहमति भएको ६ किलोमिटर सडकखण्डलाई तीन वर्षभित्र स्तरोन्नति गर्ने सम्झौता थियो। तर निर्माण प्रगति २५ प्रतिशतमै सीमित रहेपछि कार्यालयले सम्झौता तोड्ने निर्णय गरेको छ।
ठेक्का अवधि दुईपटक बढाइएकोमा पछिल्लो जेठमै म्याद समाप्त भएको थियो।

रातुवा–केशलिया सडकलाई आवश्यक स्थानमा ४ लेन र केही खण्डमा ६ लेन बनाउनुपर्ने प्रावधान थियो। सम्झौताअनुसारको कार्यान्वयन नदेखिएपछि निर्देशनालयले वैकल्पिक प्रक्रियामा अघि बढ्ने संकेत गरेको छ।

सडक विभागका अनुसार अब तुरुन्तै कामको पुनः ठेक्का प्रक्रिया अघि बढाइने तयारी छ।