मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल सिफारिस, समानुपातिक र राष्ट्रियसभा सूची
२०८२ मंसिर २३, मंगलवार १८:०१
विराटनगर, मंसिर २३, मंगलबार, मोरङ–६ क्षेत्रीय समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको छ। मंगलबार सम्पन्न बैठकले प्रत्यक्षतर्फ उहाँको उम्मेदवारी औपचारिक रूपमा जिल्ला कार्यसमितिसमक्ष अगाडि बढाउने निर्णय गरेको हो।
क्षेत्रीय सचिव लोकनाथ चौधरीले दिएको जानकारी अनुसार समानुपातिक सूचीमा सातजनाको नाम प्रस्तावित गरिएको छ। सिफारिसमा सरिता थापा मगर, सीता पोखरेल घिमिरे, रुक्मिणी कोइराला, डा. डिला संग्रौला, रमेशजंग रायमाझी, प्रमिला गच्छदार र मृदुला कोइरालाको नाम समावेश छ।
त्यस्तै राष्ट्रियसभा सदस्यतर्फ टेकवान पासवान, जयप्रकाश सरदार, महेश जाजु, प्रभा आचार्य र उमा घिमिरे क्षेत्रीय समितिबाट सिफारिस भएका छन्।
यद्यपि कांग्रेस केन्द्रीय समितिले प्रत्यक्षतर्फ तीन, समानुपातिकतर्फ दुई र राष्ट्रियसभातर्फ तीन नाम मात्र सिफारिस गर्न निर्देशन दिएपनि आकांक्षीहरूको संख्या बढी भएको कारण क्षेत्रीय समितिले परिपत्रभन्दा फरक मोडेलमा नाम सिफारिस गरेको बताइएको छ।





