स्थानीय सरकारले दुग्ध किसानलाई प्रतिलिटर १० रुपैयाँ प्रोत्साहन
२०८२ मंसिर २५, बिहीबार ११:०१
तनहुँ, मंसिर २५ बिहीबार , स्थानीय तह भिमाद नगरपालिकाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। ‘दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, २०८२’ अनुसार यो योजना अघि बढाइएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।
यसअघि नगरपालिकाले भिमाद कृषि उद्यम सहकारीसँग सम्झौता गर्दै किसानलाई अनुदान वितरण गर्ने व्यवस्था मिलाएको छ। सहकारीमार्फत उत्पादनका आधारमा रकम उपलब्ध गराइने छ।
नगरपालिकाले दूधका नयाँ मूल्य पनि तोकेको छ।
भदौ १ देखि माघ मसान्तसम्म खरिद मूल्य प्रतिलिटर ११०, थोक मूल्य १२० र खुद्रा मूल्य १३० रुपैयाँ तोकिएको छ।
त्यस्तै फागुन १ देखि साउन मसान्तसम्म खरिद मूल्य ११५, थोक बिक्री १३० र खुद्रा मूल्य १४० रुपैयाँ रहनेछ।
नगरपालिकाले प्रोत्साहन तथा मूल्य समायोजनले दुग्ध उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।




