सुनसरी–३ : बेद नारायण गच्छदारको सिफारिसमा कांग्रेस उत्साहित ‘नयाँ अनुहार’ चाहिने जनभावना बलियो, विजय गच्छदार पनि सिफारिस
२०८२ मंसिर २५, बिहीबार १३:२८
दुहबी मंसिर २५ विहिवार , प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रियामा नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. ३ आज विशेष रूपमा चर्चामा रह्यो। क्षेत्रीय समितिको बैठकले बेद नारायण गच्छदारको नाम सिफारिस गरेपछि स्थानीय कांग्रेस कार्यकर्तामाझ उत्साह र समर्थनको लहर देखियो।
पार्टी नेतृत्वले क्षेत्र, जिल्ला र प्रदेश स्तरबाट सिफारिस पठाउन निर्देशन दिएसँगै मंगलबार अधिकांश क्षेत्रीय समितिहरूले नाम टुंग्याइसकेका छन्। तर सुनसरी–३ मा भने केन्द्रीय नेता विजय कुमार गच्छदारले प्रत्यक्ष हस्तक्षेप गरेपछि निर्णय प्रक्रियामा तनाव उत्पन्न भएको एक सदस्यले बताए।
बैठकमा विजय गच्छदारले ‘एकल नाम सिफारिस’ गराउन हठ गरेको र अन्य आकांक्षीको नाम उल्लेख गर्न नदिने अडान लिँदा विवाद चुलिएको छ। उनले एकल सिफारिस भए टिकट पक्का हुने बुझ्दै दबाब बनाएको कार्यकर्ताहरूको आरोप छ।
विगतमा १८ पटक मन्त्री भइसकेका विजय गच्छदार २०७९ को निर्वाचनमा एमालेकी भगवती चौधरीसँग ५ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। गठबन्धनको साथ हुँदाहुँदै पराजित भएपछि पार्टीभित्रै उनको प्रभाव घट्दै गएको टिप्पणी गरिन्छ। यसपटक पनि कांग्रेसभित्रबाटै ‘पुरानोलाई होइन, नयाँ पुस्तालाई मौका’ भन्ने आवाज उच्च रूपमा उठिरहेको छ।
युवाबर्ग र कार्यकर्ताको झुकाव भने बेद नारायण गच्छदारतर्फ बढ्दो
दुहबीका एक कांग्रेस नेताका अनुसार, “जेन-जी आन्दोलनले नयाँ नेतृत्व ल्याउने सन्देश दियो। एउटै व्यक्ति वर्षौँ पदमा पुगेर पनि ठोस उपलब्धि नल्याउँदा जनतामा आक्रोश छ।”
उनले थपे, “काँग्रेसले जनभावना विपरीत निर्णय गर्यो भने पार्टीले समर्थन गुमाउने खतरा छ। अबको नेतृत्व स्थानीय माटो भुगाेल सुहाउँदो ,विकास प्रेमी युवा र सक्रिय कार्यकर्ताले चाहेको हो।”
युवा कांग्रेस र स्थानीय कार्यकर्ता पक्ष बेद नारायण गच्छदारतर्फ खुलेरै देखिएको छ। बैठकमा उनको नाम सिफारिस हुनासाथ कार्यकर्ताहरूले स्वागत गर्दै नयाँ पुस्ताको नेतृत्वप्रतिको विश्वास प्रकट गरेका थिए।
सुनसरी–३ को अन्तिम निर्णय अब जिल्ला समितिमा पुग्नेछ। तर आजको सन्देश स्पष्ट छ — क्षेत्रमा ‘पुरानोलाई भन्दा नयाँ अनुहार’ प्रति बलियो जनभावना बनेको छ, र त्यसको केन्द्रमा बेद नारायण गच्छदार उभिएका छन्।




