इटहरी, मंसिर २६, शुक्रबार — तरहरा बजार क्षेत्रका किसानहरूले वर्षौंको मेहनत र लगानीले खडा गरेको कामधेनु डेरी पछिल्ला महिनामा लगातार विवाद र अव्यवस्थाको केन्द्र बनेको छ। एक समय “किसानमैत्री सहकारी” भनेर चिनिने डेरी अहिले नेतृत्वको मनपरी, नाताबाद–कृपाबाद र आन्तरिक कलहका कारण किसानदेखि कर्मचारीसम्म निराश बनिरहेको छ।

सहकारीका सदस्यहरूले अध्यक्ष यादप ढकालमाथि मेसिनरी खरिददेखि उत्पादन बिक्रीसम्म मनपरी गरेको, बुटवललगायतका स्थानमा हुने कारोबारमा अनियमित कमिसन लिएको लगायतका गम्भीर आरोप लगाउँदै आएका छन्।
सहकारीको आधारभूत मूल्य “सहयोग र पारदर्शिता” नै कमजोर पारिएको भन्दै किसानहरूले नेतृत्वप्रतिको विश्वास घट्दै गएको बताएका छन्।

वितरक कर्मचारी प्रेम मिश्रको आत्महत्यापछि कामधेनु डेरी थप विवादमा तानिएको छ।
मृत्युअघि उनले लेखेको नोटमा अध्यक्ष तथा केही कर्मचारीबाट निरन्तर दबाब र अपमान सहनु परेको उल्लेख छ। झापाको कमल गाउँपालिकास्थित परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्ने तयारी गर्दै, “संस्थाले कर्मचारीको आत्मसम्मान जोगाउन सकेन,” भन्दै रोष प्रकट गरेको छ।

हालैका नियुक्ति र बढुवामा नाताबाद हाबी भएको कर्मचारीहरूले गुनासो व्यक्त गरेका छन्।
अध्यक्षको नाता पर्ने व्यक्तिलाई व्यवस्थापक बनाइएको, एक विशेष कर्मचारीलाई कृपामा आधारित बढुवा दिइएको, वर्षौंदेखि काम गरेका अनुभवी कर्मचारी प्रेम मिश्रलाई भने तिरस्कृत गरिएको आरोपले सहकारीभित्र तनावपूर्ण वातावरण सिर्जना गरेको छ।

डेरीबाट निस्कने रसायनमिसिएको फोहोर पानी पैनी खोला–प्यानिमा मिसिँदा स्थानीय बासिन्दा वर्षौंदेखि प्रभावित छन्। बर्खामा दुर्गन्ध र दूषित पानी गाउँभरि पस्ने, स्वास्थ्यमा असर पर्ने समस्याले स्थानीय त्रस्त छन्।
उनीहरू भन्छन्— “अध्यक्षले प्रशासनसँग मिलेर आवाज दवाउन खोजे, जसले समस्या झनै बढायो।”

डेरीले प्रयोग गर्दै आएको जमिनको ठूलो भाग ऐलानी रहेको, कागजात अस्पष्ट र अनियमित रहेको सदस्यहरूको आरोप छ। सहकारीको नाममा चलिरहेको भए पनि जमिन लिने–दिने प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै कानुनी प्रश्नहरू उठिरहेका छन्।

प्रेम मिश्रको अन्तिम संस्कारमा समेत अध्यक्ष ढकाल उपस्थित नहुँदा, पछि किरियाघर पुगेपछि स्थानीयले खेदाएको घटना नेतृत्वप्रतिको असन्तोष झनै गहिरिएको संकेत हो।

घटनासँगै कामधेनु डेरीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट निष्कासन गरेको छ। साथै कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेपछि विवाद झनै चुलिएको छ।

कामधेनु डेरीको दीर्घकालीन भविष्य अब पारदर्शी छानबिन, आन्तरिक सुधार र किसानमाथिको विश्वास पुनःस्थापनामा निर्भर रहनेछ—सहकारी किसानका लागि बन्यो कि व्यक्तिगत लाभको अखडा, अब समयमै उत्तर खोजिनुपर्ने छ।