काठमाडौं, मंसिर २६ शुक्रबार ,शनिबारदेखि सुरु हुने नेकपा एमालेको ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका दावेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वतन्त्र प्यानल बनाउने तयारी तीव्र पारेका छन्। प्यानल गठनका विषयमा शुक्रबार साँझ उनले आफ्ना निकट नेताहरूसँग अलग बैठक गरी रणनीति मिलाएका छन्।

पोखरेल पक्षका एक नेताका अनुसार, “हामी सहमति खोज्ने पक्षमा छैनौँ। हाम्रो तर्फबाट छुट्टै प्यानल सार्वजनिक हुनेछ। तर यदि अध्यक्षमा ईश्वर कमरेडकै नाममा एकमत हुन्छ भने सहमत हौँ,” भन्दै छलफल जारी रहेको जानकारी दिए।

यसैबीच, महाधिवेशनका मनोनित प्रतिनिधि चयनको विषय पनि विवादमा परेको छ। अध्यक्ष ओलीले १०८ जना मनोनित सदस्यको सूची एकलौटी रूपमा अघि सारेपछि पोखरेल पक्षले असन्तुष्टि जनाउँदै वैकल्पिक सूची बुझाएको थियो।

दुवै पक्षका सूची परेपछि अन्ततः ओली–पोखरेल दुबैजना बसेर टुंगो लगाउने सहमतिसहित बैठक सकिएको सचिवालय स्रोतहरू बताउँछन्। मनोनित प्रतिनिधिका विषयमा लामो विवाद र व्यापक छलफल चलेको उनीहरूको भनाइ छ।