एक्लै बहुमत ल्याउने क्षमता एमालेसँग छ : ओली
२०८२ मंसिर २७, शनिबार २०:२८
काठमाडौं, २७ मंसिर शनिबार , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने स्पष्ट चेतावनी दिएका छन्। पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एक्लै बहुमत ल्याउने ताकत रहेको दाबी गरे।
अध्यक्ष ओलीले वर्तमान सरकार चुनावको वातावरण बनाउन असफल भएको आरोप लगाउँदै संवादको सट्टा दमन र निषेधको राजनीति गरेको बताए। उनले राजनीतिक दलहरूलाई दबाब, मिडिया ट्रायल, मुद्दा र नेताहरूको राहदानी रोक्काजस्ता कदमबाट लोकतन्त्र कमजोर पारिएको टिप्पणी गरे।
उनले भने, “डर, दबाब र प्रतिशोधबाट मुक्त वातावरणमा निष्पक्ष चुनाव भयो भने एमाले एक्लै बहुमत ल्याउन सक्षम छ। चुनावबाट भाग्छ भन्ने भ्रम नपाल्नुहोस्।”
ओलीले जनताले स्वतन्त्र र निष्पक्ष निर्वाचन चाहेको उल्लेख गर्दै सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाए।




