काठमाडौं, मंसिर २९ सोमबार — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको पदयोग्यतामाथि गम्भीर प्रश्न उठाउँदै जेनजी युनाइटेडले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ।

हिजो आइतबार जेनजी युनाइटेडको प्रतिनिधिमण्डलले सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर गभर्नर पौडेल पदका लागि अयोग्य रहेको दाबीसहित लिखित मागपत्र बुझाएका छन् ।

संयोजक जनक परियारका अनुसार डा. पौडेलले गभर्नर नियुक्तिका क्रममा पेस गरेका शैक्षिक प्रमाणपत्र, कार्यअनुभव र विषयगत विज्ञता नै राष्ट्र बैंकको नेतृत्वका लागि पर्याप्त छैनन्। उनले गभर्नर नियुक्ति राजनीतिक भागबन्डाको परिणाम भएको आरोप लगाए।

युनाइटेडले गभर्नर पौडेल राजनीतिक दलसँग आबद्ध रहेको, निजी बैंक (सानिमा बैंक)को संस्थापक सेयरधनी भएको तथा आफू स्वयं गभर्नर छनोट समिति सदस्य भएर पछि राजीनामा दिएर नियुक्त भएको विषयलाई स्वार्थको द्वन्द्वका रूपमा व्याख्या गरेको छ।

यसैबीच, गभर्नर नियुक्तिपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा उजुरी तथा मुद्दा परेकाले नैतिक र कानुनी आधारमा समेत पदबाट हटाइनुपर्ने माग गरिएको छ।

जेनजी युनाइटेडले राष्ट्र बैंकजस्तो संवेदनशील संस्थामा निष्पक्ष, योग्य र विवादरहित नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै तत्काल निर्णय लिन सरकारसँग आग्रह गरेको छ।